धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
धादिङ,३० असार
धादिङ जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। जिल्लाका १३ वटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता घोषणा तथा प्रमाणीकरण सम्पन्न गरेपछि जिल्ला खोप समन्वय समितिको आयोजनामा आयोजित कार्यक्रममा बागमती प्रदेशसभा सदस्य गोविन्द लम्साल र मायादेवी शर्माको विशेष आतिथ्यमा धादिङलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो।जिल्ला स्वास्थ्य कार्यालय धादिङका अनुसार जिल्लाभरका १६ महिनादेखि ५९ महिनासम्मका सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअनुसार १५ महिनाभित्र पाउनुपर्ने सम्पूर्ण नियमित खोप प्राप्त गरेको सुनिश्चित भएपछि धादिङलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो। साथै आगामी वर्षहरूमा पनि कुनै बालबालिका खोपबाट नछुट्ने गरी कार्यक्रमलाई दिगो बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

जिल्ला खोप समन्वय समितिका प्रमुख नवराज अधिकारी क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगर प्रमुख अतिथि रहने कार्यक्रम रहे पनि विशेष कारणवश उपस्थित हुन नसकेको जानकारी दिइएको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतम, जिल्लाका १३ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य गोविन्द लम्सालले पूर्ण खोप अभियानलाई सफल बनाउन महिला स्वास्थ्य स्वयंसेविकाको योगदान अतुलनीय रहेको बताउनुभयो। उहाँले स्वयंसेविकाको सेवाको उचित मूल्यांकन हुनुपर्ने उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा जनचेतना अभिवृद्धि गर्न सञ्चारमाध्यम, जनप्रतिनिधि र समुदायको सक्रिय भूमिका आवश्यक रहेको धारणा राख्नुभयो। साथै धादिङ जिल्ला अस्पतालको पूर्वाधार विकासमा संघीय र प्रदेश सरकारबीचको अधिकारसम्बन्धी समस्या समाधान गर्न सबै पक्षले आवाज उठाउनुपर्ने बताउनुभयो।
प्रदेशसभा सदस्य मायादेवी शर्माले स्वास्थ्य क्षेत्रमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको समर्पणको प्रशंसा गर्दै स्वास्थ्य क्षेत्रका आवश्यकताबारे स्थानीय तह र स्वास्थ्य संस्थाहरूले स्पष्ट माग प्रस्तुत गरे प्रदेश सरकारबाट आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो।धुनिबेसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले कुनै पनि बालबालिका खोपबाट नछुट्ने सरकारको नीति कार्यान्वयनमा सबै स्थानीय तह सफल भएको बताउँदै आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रमा पालिकाहरूबीच अनुभव आदान–प्रदान र समन्वयलाई थप सुदृढ बनाउनुपर्ने धारणा राख्नुभयो।

नीलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्माले स्थानीय सरकारले स्वास्थ्यलाई प्राथमिकतामा राख्दै घरदैलो स्वास्थ्य सेवा, स्वास्थ्य परीक्षण, औषधि वितरण तथा नियमित खोप अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गरेको जानकारी दिनुभयो। उहाँले पूर्ण खोप सुनिश्चितता सबै स्थानीय तह, स्वास्थ्यकर्मी र महिला स्वयंसेविकाको साझा उपलब्धि भएको उल्लेख गर्नुभयो।ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनैले विकासका अन्य पूर्वाधारभन्दा नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउँदै कुनै पनि बालबालिका नियमित खोपबाट वञ्चित हुन नहुनेमा जोड दिनुभयो। उहाँले खोप अभियानलाई थप प्रभावकारी बनाउन राजनीतिक दल, बुद्धिजीवी तथा सामाजिक अगुवाहरूको पनि सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो।प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले पूर्ण खोप सुनिश्चितता धादिङका लागि गौरवको विषय भएको बताउँदै स्वस्थ नागरिक निर्माण नै समृद्ध समाज निर्माणको आधार भएको उल्लेख गर्नुभयो। उहाँले मनसुनजन्य विपद्का कारण फैलिन सक्ने महामारीप्रति पनि सबै स्थानीय तहलाई पूर्वतयारी गर्न आग्रह गर्नुभयो।

कार्यक्रमका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीले धादिङका १३ वटै पालिका र १०४ वटै वडामा रहेका लक्षित बालबालिकालाई नियमित खोप सुनिश्चित गर्दै जिल्लाले पूर्ण खोप सुनिश्चितताको प्रमाणीकरण प्राप्त गरेको जानकारी दिनुभयो। उहाँले नेपाल सरकारले सञ्चालन गर्दै आएको नियमित खोप कार्यक्रम दक्षिण एसियाकै सफल सार्वजनिक स्वास्थ्य कार्यक्रममध्ये एक भएको उल्लेख गर्दै यसको दिगोपनाका लागि सबै तहको निरन्तर सहकार्य आवश्यक रहेको बताउनुभयो।कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाहरूको योगदानको उच्च मूल्यांकन गर्दै सम्मानसमेत गरिएको थियो। सहभागी वक्ताहरूले पूर्ण खोप सुनिश्चितता घोषणा अन्तिम उपलब्धि नभई आगामी वर्षहरूमा पनि प्रत्येक बालबालिकालाई समयमै नियमित तथा बुस्टर खोप सुनिश्चित गर्नु सबै पक्षको साझा दायित्व भएको बताएका थिए।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |