बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ,३१ भदौ
मलेखु–मुग्लिङ सडकखण्ड अन्तर्गत धादिङको कृष्णभीरमा नयाँ ट्र्याक निर्माणसँगै पृथ्वी राजमार्ग घोषित समयमै सञ्चालनमा आएको छ । भदौ १० गतेको बाढीले जोखिममा पारेको कृष्णभीरमा भदौ १४ गतेको बाढीले सडकसमेत बगाएपछि अवरुद्ध राजमार्ग असोज १ गते बिहानदेखि दुईतर्फी यातायात सञ्चालनका लागि तयार भएको हो ।
संघीय राजधानी प्रवेशको मुख्य मार्ग अवरुद्ध हुँदा ग्यास, तेल तथा अन्य अत्यावश्यक वस्तुको आपूर्ति र आवागमन प्रभावित हुँदै आएको थियो । वैकल्पिक मार्ग प्रयोगमा आए पनि सहज नभएपछि प्रधानमन्त्री वालेन्द्र शाहले सडक छिटो सञ्चालनमा ल्याउन पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिनुभएको थियो । भदौ १७ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाहले कृष्णभीरको सडक भदौ महिनाभित्रै सञ्चालनमा ल्याउने जानकारी दिनुभएको थियो ।
प्रधानमन्त्रीको चासो तथा सडक सञ्चालनका लागि दैनिक १६ घण्टासम्म कार्यक्षेत्रमा खटिएका प्राविधिक र कामदारको प्रयासबाट काम सुरु भएको दुई सातामै राजमार्ग सञ्चालनमा ल्याइएको हो । बाढीसँगैको पहिरोले सडक बगाएपछि पूर्वाधार विकास मन्त्रालय र सडक विभागले नेपाल जियोटेक्निकल सोसाइटीका प्राविधिकको सहयोगमा चार दिनसम्म द्रुत अध्ययन गरेका थिए ।
अध्ययनपछि कृष्णभीरको पहाड काटेर करिब २५० मिटर लामो नयाँ ट्र्याक निर्माण गर्ने विकल्प अघि सारिएको थियो । सोहीअनुसार भदौ १९ गतेदेखि रुख कटान गरी ३५ मिटर अग्लो र २० मिटरसम्म भित्र पहाड काटेर ट्र्याक निर्माण गरिएको हो । प्राविधिकसहित ५० जनाले दैनिक १२ देखि १६ घण्टासम्म काम गरेका थिए ।
काम सुरु भएको दशौँ दिन, भदौ २८ गतेदेखि ग्यास बुलेटसहित केही सवारीसाधनलाई परीक्षणका रूपमा नयाँ ट्र्याकबाट आवतजावत गराइएको थियो । त्यसपछि बिहान र बेलुका अत्यावश्यक सवारीसाधन सञ्चालन गरिँदै आएको कृष्णभीरमा सडक ग्राभेल, नाली निर्माण तथा सडकलाई थप मजबुत बनाउने काम सम्पन्न गरी असोज १ गते बिहानदेखि दुईतर्फी यातायात सञ्चालनको प्रबन्ध गरिएको हो ।
आपूर्ति र व्यापारमा परेको असर
कृष्णभीरको पहिरोले सडक बगाएपछि पृथ्वी राजमार्ग अवरुद्ध हुँदा पूर्वदेखि सुदूरपश्चिमसम्मका सार्वजनिक सवारीसाधनसमेत हेटौँडा हुँदै त्रिभुवन राजपथबाट काठमाडौँ आउनुपर्ने बाध्यता थियो । ग्यास बुलेट, तेल ट्याङ्करलगायत ठूला सवारीसाधन सञ्चालनमा समस्या हुँदा संघीय राजधानीको आपूर्ति प्रणाली प्रभावित हुने अवस्था सिर्जना भएको थियो । राजमार्ग अवरुद्ध हुँदा राजमार्ग क्षेत्रको व्यापार व्यवसायसमेत प्रभावित भएको थियो ।
दुई दशकपछि फेरि नयाँ ट्र्याक
२०५५ सालदेखि पहिरो जान सुरु गरेको कृष्णभीरमा २०५७ सालको साउनमा ठूलो पहिरो गएको थियो । त्यसपछि पनि पटकपटक पहिरोको समस्या भोग्दै आएको कृष्णभीरमा जैविक तथा जियो–टेक इन्जिनियरिङ प्रविधिबाट पहिरो नियन्त्रणका काम गरिएका थिए ।
२०६० सालमा पहिरो नियन्त्रणका लागि निर्माण गरिएको संरचनाको आयु २० वर्ष तोकिएको थियो । तत्कालीन संरचना निर्माण भएको करिब २३ वर्षपछि भदौ १४ गतेको बाढीले कृष्णभीरको सडक पूरै बगाएपछि नयाँ ट्र्याक निर्माण गरी पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउनुपरेको हो ।
काठमाडौँ उपत्यका र आसपासका क्षेत्रबाहेक देशका करिब ६७ जिल्लाका लागि पृथ्वी राजमार्ग संघीय राजधानी प्रवेश गर्ने मुख्य मार्गका रूपमा रहेको छ । राजमार्ग सञ्चालनमा आएसँगै यात्रु आवागमन, मालवाहक सवारीसाधन सञ्चालन तथा अत्यावश्यक वस्तुको आपूर्तिमा सहजता आउने अपेक्षा गरिएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |