विनोद तमु(बल्लु)
धादिङ,७ साउन
के तपाईको दिमागमा पनि मोबाइल, सामाजिक सञ्जाल, मीम र एक्कासी अस्तित्वको संकटको बिचारहरु आउँछ ? यदी आउँछ भने तपाईं पनि मजस्तै जेन्जी हुनसक्ने प्रवल सम्भावना छ । आखिर के हो त जेन्जी ? को हो जेन्जी, यिनीहरुले कसरी काम गर्छन् ? जेन्जीले कसरी सोच्छ ?, जेन्जीले केके गर्छन्, जीन्दगीमा केलाई बढी महत्व दिन्छन् ? जेन्जीको समस्या के हो ? अनि बिशेषता के हो ?आज हामी यस्तै कुराहरुको बिषयमा कुरा गर्छौँ । हुन त जेन्जीको बिषयमा लेख्ने म आफैं जेन्जी हुँ । यो लेखको मुख्य लक्षितवर्ग पनि जेन्जी हो । अनि सायद यो लेखलाई अहिले चाख दिएर पढ्दै गर्नुहुने तपाईपनी जेन्जी नै हुनुहुन्छ होला ।
हामी असिमित क्षमता राख्ने जेन्जी, न्यायका योद्धा, समानताका रक्षक, राम्रो संसारका पक्षधर र समाज रूपान्तरण गर्ने प्रतिनिधि हौं । थाहा छैन अझ के–के हौं के–के ?म कुरा गर्दैछु जेनेरेसन–जेड अर्थात् जुमर्सको । जसले जन्मदर्ता प्रमाणपत्रभन्दा पहिला जिमेल खाता बनाइसकेको हुन्छ ।जेन्जी तिनिहरु हुन् जो सन् १९९७ देखि २०१२ को बीचमा जन्मिए, जो यो समयमा युवावस्थामा छन, जसले आफ्नो बाल्यकाल सिडी प्लेयर र नोकिया मोबाइलसँग बिताए अनि किशोरावस्थामा एनसेलको १० रुपैयाँको २० वटा म्यासेज प्रयोग गरेर आए र अहिले जवानीमा मेटाभर्स र एआईसँग डेट गर्दैछन ।
यी युवाले समाजलाई बदल्न चाहन्छन तर आफू भने बिहान ७ बजे उठ्न अझै सक्दैनन् । कुनैपनी कुरामा सचेत छन् तर दैनिक व्यवहारमा भने जवाफदेहि छैन । यिनिहरु ति व्यक्ती हुन् जसले कहिलेकाहीँ सामाजिक सञ्जालमा ‘पश्चात्ताप’का भाषाहरु पोष्ट गर्दै बस्छन् ।जेन्जीको सोच गहिरो छ तर उतीनै थिचिएको पनि छन् । सोच एकदमै तेज छ तर विचारहरू ईन्स्टा रीलभन्दा छिटो स्वाईप पनि भईरहन्छ । उनीहरू नीतिगत बहस गर्न सक्छन् तर कमेन्ट सेक्सनमा मात्र । कहिलेकाहीँ चाहिँ सडकमै विरोध गर्न तम्सिन्छन तर मुख्य उदेश्य इन्स्टाग्राम स्टोरी अपडेट गर्ने मात्र हुन्छ । यिनको सोच मुख्यतः ‘सामाजिक सञ्जालको मीममा आधारित’ छ ।यीनले एउटा मीममार्फत सिङ्गो सामाजिक सन्देश दिन खोज्छन् । यो पुस्ताले १० मिनेट कुनै बिषयमा ध्यान केन्द्रित गर्न सक्दैनन, तर २ घण्टा सम्म How to fix my life in 10 steps भन्ने भिडियो हेर्न सक्छ ।प्राय जेन्जीहरु डिजिटल बनावटीपनको दलदलमा पनि फसेका देखिन्छन् । सामाजिक सञ्जालमा ‘परफेक्ट लाइफ’ देखाउने दबाब झेलिरहेका छन । आत्मसम्मान टिकटक लाइकमा अड्केको छ । रियल लाइफभन्दा ज्यादा डिजिटल सेलिब्रेटी हुने होडमा दौडिरहेको छ । आत्मविश्वासमा अस्वस्थ प्रतिस्पर्धा छ अनि सतही आत्म–संवादमा अल्झिएको छ ।
उदाहरणको लागी “साथीले पार्टीमा गएको फोटो पोस्ट गर्यो भने, घरमा बसेर रक्सी पिउँदै डिप्रेसनको मीम बनाउने” पुस्ता हो यो ।जेन्जीले पनि प्रेम त गर्छ तर समय मिलाएर । धेरैले भन्छन् कि “जेन्जीहरू गम्भीर हुँदैनन्” तर वास्तविकता भने फरक छ उनीहरूका लागि सम्बन्ध भनेको दुबै जना सँगसँगै अगाडि बढ्ने यात्राजस्तै हो । केवल फोटो खिच्ने र पोस्ट गर्ने कुरा मात्र होइन । मायामा होमिनुअघि उनीहरूले धेरै कुरा हेर्ने गर्छन् जस्तै, व्यवहार ठीक छ कि छैन, रिस उठ्दा कस्तो गर्छ, अरूलाई कति इज्जत दिन्छ भन्नेजस्ता १०/१५ वटा कुराको सूची हुन्छ । त्यसैले उनीहरु माया सुरु हुनुअघि नै सोध्ने गर्छन् तिमी साँच्चै भावनात्मक रूपमा तयार छौ कि छैनौ ? यदी तयार छ भने अब सम्बन्धको लागि सीमाना (सीमा) तय हुन्छ, अनि मात्र माया सुरु हुन्छ । त्यसैले यो प्रक्रिया पूरा गर्न नसक्नाले जेन्जीहरुको सम्बन्ध सुरू हुनुअघि नै अन्त्य हुने पनि गर्दछ । भावनाको गहिरो सम्बन्ध बन्नुअघि नै हराउँछ त्यसैले पनि लामो समय सम्पर्क राखिरहनु त अहिले दुर्लभजस्तै देखिने गर्छ ।
वास्तवमै जेन्जीहरूको सम्बन्ध अचम्मकै हुन्छ, ‘फास्टफूट’ जस्तो सुरूमा निक्कै मीठो अनि भविस्यमा चाहिँ बिमार बनाउने खालको ।जेन्जीहरूको जीवनशैली मात्रै हैन, उनीहरूको सोच्ने तरिका र दिमाग पनि अलिक फरक किसिमको छ । यी मानिसहरू हाँसिरहेका देखिन्छन्, रमाइरहेका जस्ता लाग्छन् तर त्यो हाँसोभित्र कताकता चिच्याहट लुकेको हुन्छ अनि त्यो चिच्याहट लुकाएजस्तो गरि देखाईपनी रहेका हुन्छन जेन्जीहरु । जस्तै स्टोरीमा ‘लाईफ इज् ब्यूटिफुल’ लेख्नेहरु रातभर निद्रा नलागेर सुन्निएको आँखा लिएर सामाजिक सञ्जालमा लाईभ आईरहेका भेटिन्छ्न । उनीहरू आफ्ना पीडा लुकाउँछन् जस्तो लाग्छ, तर कहिले काहीँ त ती पीडा खुलेर पनि देखाइदिन्छन् । जस्तैः कहिले स्याड मिममा लव रियाक्ट हान्न पुग्छन् कहिले शेयर नै गर्छन, कहिले स्टोरीमा लेख्छन्, अनि कहिलेकाहीँ त सिधै पोस्टमा “आज मन निकै भारी छ” भन्दै लेख्न पुग्छन ।
अमेरिकी मनोविज्ञान संघ American Psychological Association (APA)का अनुसार, “जेन्जीहरू अहिलेसम्मकै सबैभन्दा धेरै मानसिक तनाव र डिप्रेसन भोग्ने पुस्ता हुन् ।” खास कुरा के हो भने उनीहरू पुराना पुस्ताजस्तो तनाव र डिप्रेसन भने लुकाउँदैनन् । बरु उनीहरू त सामाजिक सञ्जालतिर मलाई समस्या छ, म थकित छु, म डिप्रेस्ड छु भन्दै पोस्ट गर्छन् । उनीहरू रोएपछि म त केटा भएर पनि रोएँ भन्दै ग्लानी गर्नुको सट्टा म मान्छे भएर रोएँ भन्नेजस्ता जवाफ दिन्छन । सामाजिक सञ्जालले उनीहरूलाई शेयर गर्ने आदत त लगायोे, आफ्नो कुरा राख्ने प्ल्याटफम त दियो, तर सुनिदिने मान्छे अँ हँ …… दिनै सकेन । अनि कहिलेकाहिँ उनीहरू आफ्ना सबै पीडा स्टोरीमा भक्कानिएर राख्छन् तर कसैले हेर्दैन, हेरेपनी बुझ्दैन, बुझेपनी नबुझेजस्तो गर्छ र उनीहरु यो पिडाको दलदलमा अझ गहिरोसँग गाडिन पुग्छन ।
त्यसोभए जेन्जी अभिशाप हो कि वरदान त ?
जेन्जी भन्नु वरदान हो तर यसलाई बुझ्न अलिक मुश्किल नै छ । यी पुस्ता अलमलिएको जस्तो देखिन्छ, यिनिहरु कहिले जागरुकताको शिखरमा हुन्छन् कहिले सोचको दलदलमा । यीनिहरु म मौन छु, तर सोचिरहेछु भन्ने सोच बोक्ने पुस्ता हुन । यीनिहरुले सही समयमा सहि ज्ञान र गन्तव्य पाए भने, छिट्टै समाजलाई नयाँ मोड दिन सक्छन् ।
अनि जेन्जी सम्बन्धमा किन असजिलो वा अपरिपक्व त ?
जेन्जीहरु आफैँलाई बुझ्न समय लगाउँछन् । पहिले भित्री घाउ चिन्न खोज्छन्, अनि मात्र अरूलाई अँगाल्न खोज्छन् । माया सुरु गर्नु अगाडि आत्म–माया खोजिरहेका हुन्छन् । यो कमजोरी त होइन गहिरो सोचको संकेत हो तर कमजोरी जस्तो देखिन्छ । कहिलेकाहिँ जेन्जीहरु आफैंलाई चिन्ने चाहमा युट्युब मा ‘हाउ टु लभ योरसेल्फ’, ‘साइन्स अफ अ टक्सिक पर्सन’, ‘आर यू एन एम्पाथ’ जस्ता भिडियो हेर्दै बस्छन्, गुगल गर्छन् अनि च्याट जिपिटी लाई सोध्दै बस्छन् कोहीकोही । अब जसले आफैँलाई माया गर्न सिक्दैछ, उसले अरूलाई कसरी सम्हाल्नु ? उनीहरु वास्तवमा सम्बन्धमा अपरिपक्क होईन, सिकारु हुन । उनीहरुलाई पहिला आफुलाई चिन्न सिकाउन सकियो भने संसार आफैं चिन्नेछन र स्थापित गर्नेछन संसारकै सबैभन्दा परिपक्क सम्बन्ध पनि एक अर्कासँग ।
हूकअप कल्चर के जेन्जीको गल्ती हो त ?
यी पुस्ताका लागि सम्बन्ध केवल नाम होइन, अनुभव हो तर कहिले काहीँ संवेदना छुटेपछि चोट लाग्छ ।मैले माथिनै भनिसकें जेन्जीहरु पहिला आफुलाई चिन्न खोज्दैछन अनि जेन्जीहरुले आफ्नो पिडा लुकाउँदैनन् पनि । यीनिहरु प्रेममा स्वतन्त्रता खोज्छन्, तर मन दुख्दा प्रस्ट देखाउँछन पनि । त्यसैले यो हूकअप कल्चर गलतजस्तो देखिन्छ तर वास्तबमा यो गलत होईन । जेन्जीहरुलाई सानो कुराले पनि असर गर्छ, किनभने यीनिहरु भावना दबाउँदैनन् । मन दुःख्यो भने साथीलाई भन्न डराउँदैनन्, डायरीमा होइन, स्टोरीमा लेख्छन् । यीनीहरु कमजोर होइनन् संवेदनशील हुन् ।
के जेन्जी अलमलिएका हुन् त ?
कहिलेकाहीँ त हो तर त्यसको अर्थ उनीहरू अज्ञानी भने छैनन् ।यो पुस्ताले त पुरानो पुस्ताको हुनैपर्छ भन्ने भनाईभित्र किन हुनैपर्छ भन्ने उत्तर खोजिरहेका छन् ।यिनले प्रश्न गर्छन्, आफैं उत्तर खोज्छन्, अनि आफ्नै सिद्धान्त बनाउँछन् र आफैं त्यो सिद्धान्तमा अघि बढ्छन् ।अन्तमा म यतिचाहिँ भन्छु कि हामी जेन्जी हामी हाँस्छौं तर त्यो हाँसोभित्र गहिरो अर्थ हुन्छ।हामी कमजोर होइनौं, बस परम्परागत संरचनाभन्दा फरक छौं ।हामी आक्रोशित पनि हौं, किनभने हामी चुप बस्न जान्दैनौंैं ।हामी इम्परफेक्ट छौं तर इभल्भ भइरहेका छौं । हामी मिम बनाउँछौं तर वास्तविक मुद्दा पनि उठाउँछौं । हामी असन्तुष्ट छौं किनभने हामी जान्दछौं, हामीले जे खोजेका छौं, त्यो अझै पूरा भएको छैन । हामी जेन्जी पर्दामा हुर्किएका हौं, तर चेतनामा बाँचिरहेका छौं । हामी परिवर्तन हौं हामिलाई सपोर्टको खाँचो छ ।”
लेखक नीलकण्ठ एफ.एम.मा कार्यरत हुनुहुन्छ । माथि लेखिएका शव्दहरु लेखकका नीजि विचार हुन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |