अधिवक्ता – कृष्णराज अधिकारी
नेट बन्द भएको ३,४ घण्टा भैसकेको थियो । जब नेट खुल्यो तब मोबाईलको फेसबुक खोलि हेर्दा उसको स्टाटस सहितको फोटो देखिहाले । उसको भनाईमा नैराश्यता को अभिव्यक्ति थियो । शब्द शब्दमा उजाड भावनाहरु तैरीरहेका देखिन्थे । ऊ आज ज्यादै तनावमा छ भन्ने मैले अड्कल काटी सकेको थिए ।
ऊ यो गएको दशै अगाडि देखि नै मामाघर तिर नै धेरैजसो दिनहरु बिताई रहेको छ । घरमा त अझै आमा बाबा तगडा नै हुनुहुन्छ । खन्ने खोस्रने काम अहिले सम्म पनि बुढा बुढी आफैले नै गरी आउनु भएको छ । मामाघर तिर हेरबिचार गरीदिने कोही छैन । मामाघर तिर त साहरा दिने काम ऊ स्वयंले गरी आएको छ । वुढा मामा,मामाकी छोरी,अनि २ साना साना जून तारा । वस् यति नै हो उसको परिवार । यिनै सुन्दर परिवारका सदस्यहरुसंग रमाउंदै दिन कटाई रहेको छ उ हिजो आज ।
मामाघरमा बस्दा बस्दै उसले आफ्नो जवानी ढल्की सकेको पत्तै पाएन । मामाकी छोरीको र उसको जवानी संगसगै जस्तो फक्रेको त्यसलाइ किन हो कुनि सम्बन्धमा खुलेर बदल्न पनि सकेनन् । उनीहरुको जातमा त मामा फूपु चेला चेलीको त बैबाहिक हक नै हुन्छ भन्ने चलन छ । उ त्यस घरमा आउनु अगाडि देखिनै जून ताराका बाबु आमा पनि परिवारको सदस्य भै बस्दै आएका हुन् । जव तारा हुर्किएर टुकुटुकु हिड्ने बेला भए पछि उनीहरुको बुबा ले चटक्कै छोडी मुग्लान पसेका त्यस पछि अत्तो पत्तो भएन । आफ्नो बुढाले कुनै खोज खबर नगरे पछि आफ्ना भन्ट्याङ भुन्टुङ दुई छोरा छोरीलाई माया मारी उनीहरुका आमाले पनि अर्कै बुढा रोजेर टाप कसिन् । अब ती साना साना जून तारालाई अभिभावकत्वको खाचो पर्न गयो । त्यसैलाई पुरा गर्न भनि ऊ मामाघर तिर बस्न थाल्यो । जून तारा, मामाकी छोरी ईशा र बुढा मामालाई रेखदेख गर्नु नै उसको पारिवारीक कर्तब्य जस्तै रह्यो ।
प्राय ऊ दिनहुं जसो बजार झर्ने गर्दथ्यो । बेलुका घर फर्कदा जून ताराहरुका लागि केहि न केहि वस्तु लेजाने बानि नै परीसकेको थियो । जून र ताराको उमेरको फरक भनेको जम्मा डेढ वर्ष मात्र रे ! ती दुबै का लागि आफ्नो बाबा भनेको ऊ नै थियो भने ईशा आमा थिइन् । उसले पनि जून तारालाई आफ्नै रगतको नाता सम्झन्थ्यो । बाख्राका पाठा पाठीलाइ त एक दुइ महिना काखमा राखेर पाले पछि मायां लाग्छ भने मानिसको त नहुने कुरै भएन । ऊ मायाजालमा पर्यो । संगसंगैका दौतरीहरुले घरजम गरी बालबच्चा हुर्काइ सकेका छन् । तर उसको भने अझैसम्म बिबाह भएको छैन । सायद ऊ मामा अनि मामाकी छोरी र तिनै जून ताराहरुसंग हांसखेलमै पारिवारीक अनुभूती गर्दै दिनहरु बिताइरहेको हुनुपर्छ । उमेरले बुढेउली लागे पनि जाल खेलि माछा मार्न मामा औधि सिपालु । बजार तिर टठ्याइ बठ्याइ गर्न भान्जा सिपालु । बाल बच्चा रेखदेख गर्न र घरभित्रको काम गर्न ईशा सिपालु । बस् के चाहियो र यति भए पछि ।
समयले कसैलाइ पनि पर्खदैन र यो एकनासको पनि हुदैन भनिन्छ । त्यसैले त भनिन्छ नि “जसले समय अनुसार आफुलाइ जसले परीवर्तित गर्दै चल्न सक्छ उ सफल हुन्छ जो समय अनुसार चल्न सक्दैन उ असफल बन्न पनि सक्छ“। ऊसको लागि पनि समय एकनासको रहेन । समय ओरालो तिर झर्न थाल्यो । दुखः हण्डर र दुर्दशाका दिनहरु मडारिन थाले । अघिल्लो वर्ष माछाले मामालाइ डुबाइ लग्यो । उसको साहरा टुट्यो । यस वर्ष केहि महिना अगाडि मात्र ईशाले पनि बालबच्चालाई उसकै जिम्मा लगाइ बैदेशिक रोजगारीमा विदेश तिर लागिन् । अब त ऊ घरमा तिनै दुई जून तारालाई हेरबिचार गरी दिन काट्न बाध्य थियो ।
ऊ आफु भित्र दनदनि जलिरहेको पीडालाई सहेर तिनै जून तारासंग भुलिरहेको थियो । जून तारा उसका लागि आंखाका नानी जस्तै थिए । बिहान दिउंसो जता भए पनि बेलुका घरमा जून ताराका लागि भने पनि नगै सुखै थिएन । ऊ मेलामहोत्सवमा जून तारालाई हातमा डोर्याउंदै हिड्ने गर्दथ्यो । उनीहरुले जे कुराको चाहना गर्छन् त्यो सबै पुर्याएकै थियो । कहिले आइसक्रिम त कहिले चीजवल यस्तै यस्तै । उसले आफ्नो जन्म दिन आजसम्म मनाएको थाहा छैन । तर जून ताराको जन्म दिन हरेक बर्ष विशेष बनाउंथ्यो । अब त ऊ बिना जून तारा पनि एकछिन बस्न नसक्ने र जून तारा बिन ऊ पनि एक्लै रहन नसक्ने भएको थियो ।
जून तारालाइ स्याहार सुसार गर्नु,खाना खुवाउनु , स्कुल ड्रेस लगाएर पाठशाला पठाउनु जस्ता कार्यहरु उसका नियमित दिनाचार्या थिए । यसै गर्दै केहि महिना देखि उ ब्यस्त रहि पारिवारिक वातावरणमा रमिरहेको थियो । भाविले लेखेको कुरा टारेर टर्दैन भन्छन् त्यस्तै भयो । एक दिन सांझ अचानक परदेशिएको जून ताराका बाबु घरमा आइपुगे । लामो समय देखि खोजखबर नभएको मान्छे बिना खबर सांझमा घरमा आउदा उ दंग थियो । कतै आंखाले धोका दियो कि भनेर पटक पटक आंखा मिचेर हेर्यो तर यो वास्तविकता थियो । उसले आदर सत्कार गर्यो ।
छोराछोरीलाइ आफ्नो बाबा चिनायो । तर बच्चाहरुले वास्तै गरेनन् । हाम्रो बाबा तपाई हुदा हुदै फेरी अर्को बाबा को हो यो तारा भन्दै थिइन । हराएको भनेको मान्छेले जून तारालाइ आफु साथमै लैजान आएको रे ! नेपाल तिरै कुनै शहरमा काम गरी बसेको रे अब छोराछोरीलाई पनि साथमै राखि पालन पोषण गर्ने रे ! आफ्नो बालबच्चाहरु लैजान्छु भने पछी उसले रोक्ने कुरा पनि आएन । ऊ लाचार छांया बन्यो । भोलीपल्ट बिहानै गाडी चढाउन जून तारालाई डोहर्याउदै बजार सम्म झर्यो । बाटोमा यात्रा गर्दा भोक लाग्ला कि भनेर बाबु नानीहरुका लागि खानेकुरा र पानी किनिदियो र बसको सिटमा राखि वाईवाई को अभिवादन गर्यो । बिस्तारै बस आगाडी बढ्न थाल्यो पर झ्यालबाट वाई वाई बाबा भनेर बाबु नानीहरुले हात हल्लाए ऊ भने गहभरी आंसु पारी मलिन स्वरमा मुख छोपी वाई वाई जून तारा भन्न विवश रह्यो ।
उसको मायाको त्यन्द्रो सबै चुढ्यो । सपनाहरु चकनाचुर भए, शिशा फुटे झै भए । ऊ एक्कासी भमरीमा पर्यो । के गर्ने के नगर्ने सोच्नै सकेन । जसका लागि भनेर ऊ आजसम्म सारा जीवनलाइ खर्चेर बसेको थियो ति सबै सिमलका भुवा सरी एक एक गर्दै उंड्दै गए । हिजो सम्म सानो सुखि घर परिवार भनि सबै कुरा बिर्सिएर बसेको मान्छे आज एक्लै बसिरहेको घरमा कसरी जानु ? कसरी रात बिताउनु ? तासको घरजस्तै सबै एकैचोटी गल्र्याम गुर्लुम भए ।
त्यसैले त आज ऊ मानसिक तनावमा परेको छ । उसको मलिन अनुहार बाट नै तनावमा छ भन्नेकुरा जो कोहिले पनि लख काट्न सक्थ्यो । ऊ एक्लै एकान्तमा गह भरी आंसु पार्दै सुंक्क सुंक्क गर्न थाल्यो । कोठा बाहिर कुन बेला घाम डुब्यो पत्तै पाएन । बुढापाकाहरु भन्ने गर्नुहुन्थ्यो –“अर्काको बाच्छो चाटी मुखभरी रौं “! अस्तु ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |